सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद उत्कर्षमा पुगेका बेला बसेको सचिवालय बैठकलाई निकै महत्त्वका साथ हेरिएको हो ।
पार्टी सचिवालयका बहुमत सदस्य प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने अडानमा छन् । दुई विवादास्पद अध्यादेशका कारण चर्किएको विवाद त्यसलाई फिर्ता गरिसकेपनि टरेको छैन ।
ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये कम्तिमा एक पद नछाड्दासम्म चुप नलाग्ने रणनीतिमा अन्य नेताहरू देखिन्छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'लगायत एक ठाउँ देखिएका छन् ।
पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले आफूपक्षीय सांसदहरूलाई बुधवार बालुवाटारमा भेला गरे । संसदीय दलमा आफ्नो बहुमत सिद्ध गरेर राजीनामा माग्नेहरूको मुख थुन्ने रणनीतिमा उनी देखिएका छन् ।
अर्को पक्ष भने सबै समस्या सचिवालय तथा स्थायी कमिटी बैठक बसेर हल गर्नुपर्ने अडानमा छ । पार्टीका यी दुवै कमिटीमा अल्पमतमा रहेकाले ओली आफू तुलनात्मकरूपमा बलियो रहेको संसदीय दलमा बहुमत सिद्ध गर्ने कसरतमा देखिएका छन् । फाइल तस्बिर / लोकान्तर बाट










