भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जोड्ने सडक मार्गको उद्घाटन गरेको घटनाप्रति साझा पार्टीले भर्त्सना गरेको जनाएको छ।

साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा ‘धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको’ उल्लेख छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ। यो स्पष्टतस् भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो,’ जारी विज्ञप्तिमा भनिएको छ।

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नभएको भन्दै साझाले दुख प्रकट गरेको छ। भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा नेपालको कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार रहेको उक्त पार्टीको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो।’

भारतले सबै अतिक्रमित भूमि छोडेर जानुपर्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्ने पछिल्लो समय भारतले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्ने र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने साझा पार्टीको माग छ।