काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणले पुनः विना प्रतिस्पर्धा फ्रिक्वेन्सी वितरणको प्रक्रिया अघि बढाएको छ। उसले फेरी एनसेललाई फ्रिक्वेन्सी वितरण गर्न लागेको हो ।
प्रतिस्पर्धाका आधारमा फ्रिक्वेन्सी वितरण गर्नुपर्ने कानुनी प्रावधान छ। तर उक्त प्रावधानविपरीत प्राधिकरणले एउटा कम्पनीलाई मात्र फ्रिक्वेन्सी दिनलागेको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान भइरहेको बेला प्रक्रिया अघि बढेको हो।
सोमबार बसेको बोर्ड बैठकले उक्त ब्यान्डमा रहेको फ्रिन्वेन्सी एनसेललाई दिने प्रक्रिया अगाडि बढाउन प्राधिकरण व्यवस्थापनलाई अख्तियारी प्रदान गरेको थियो।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले एनसेललाई पुरानै बोलपत्रका आधारमा फ्रिन्वेन्सी दिने प्रक्रिया अगाडि बढेको बताए। प्राधिकरणले गत वर्ष यसका लागि बोलपत्र आह्वान गरेको थियो।
सो क्रममा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको मात्र निवेदन परेपछि फ्रिक्वेन्सी वितरण स्थगन गरिएको थियो। तर अहिले प्राधिकरणले पुरानै बोलपत्रको आधारमा ९ सय र २१ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी विना प्रतिस्पर्धा एनसेललाई मात्र दिनलागेको हो।










