काठमाण्डौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय बैठकले गरेको छ ।
पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो भएको ठहर कांग्रेसले गरेको छ।
आइसोलेसन सेन्टर सँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा पनि कांग्रेसले चित्रण गरेको छ।
संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसको छ।










