काठमाडौं। नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुंदैछ । गत ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय थियो ।
संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो । संघीय संसद सचिवालयले आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
विधेयकमा दफाबार छलफलपछि पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संविधान संशोधन विधेयक पारित हुनेछ । संंसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् ।
जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित अतिक्रमण गरेको भूमि फिता गर्न भारतलाई आग्रह गरेका थिए । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा,कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।










