काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिजन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।
धेरै देशमा अहिले मेडिकल अक्सिन पाउन मुश्किल हुन थालेको र यसले गर्दा कोरोना भाइरसविरुद्ध अभियान कमजोर बनाउने डब्लुएचओका महानिर्देशक डा. टेड्रोस आध्यनोमले बताएका छन् । टेड्रोसले विश्वभर अक्सिजन दिने मेशिनको समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।
प्रत्येक साता १० लाख बढी नयाँ संक्रमित देखा परेका छन् । यसकारण प्रत्येक दिन विश्वमा ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६ दशमलव २० लाख क्युबिक मिटर अक्सिजन जरुरी पर्ने टेड्रोसले बताए । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म खरिद गरेको १४ हजार अक्सिजन दिने मेसिन १ सय २० देशमा पठाउने तयारी गरेको जानकारी दिइएको छ ।
अबको साता विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोड पुग्ने डब्लुएचओले बताएको छ । अहिलेसम्म विश्वमा ९५ लाख ४७ हजार मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८५ हजार बढीको मृत्यु भइसकेका छ ।



