मोरङ / मोरङको कानेपोखरी गाउँपालिका–७ मा बिहीबारराति भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले ठक्कर दिँदा पैदल यात्री एक महिला र मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । सुरुमा पैदल यात्री महिलालाई ठक्कर दिएपछि अनियन्त्रित बनेको स्कोरपिओले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई पनि ठक्कर दिँदा दुर्घटना भएको उनको भनाइ छ ।

दुर्घटनामा परेर महिलाको घटनास्थलमै मृत्यु भएको छ । ४०÷४५ वर्षीया उनको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । पैदल यात्री महिलालाई ठक्कर दिए लगत्तै स्कोरपिओले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको डीएसपी गिरीले बताए । ठक्करबाट मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको जानकारी गिरीले दिए ।स्कोरपिओका धनी समेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पुर्बेली न्यूज बाट