काठमाण्डौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि अहिले त्यसको चौतर्फी विरोध शुरुभएको छ । उनलाई महाअभियोग लगाउनुपर्नेसम्म माग उठेको छ। उनलाई महाअभियोग लगाउनु पर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै माग गरेका छन् ।
श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैदको जेल सजाय तोकेका थिए। तर गत असार १५ गते सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका हुन्।
यसविरुद्ध पुनरवलोकन माग गर्दै सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने राजनीतिक दल तथा नागरिक पनि विरोधमा उत्रिएका छन्।
सो फैशलाका कारण प्रधानन्यायाधीशकै नियतप्रति प्रश्न उठाइएको छ। सो निर्णयलाई लिएर सामाजिक संजालमा विरोधका प्रतिक्रियाहरु आइरहेका छन् । उनको नियतमाथी नै प्रश्न गर्न थालिएको छ । युवा पुस्ताले खुलेरै विरोध गरेका छन् ।



