काठमाडौं : केही समय मत्थर जस्तो देखिएको सत्तारुढ नेकपाभित्र कलहले फेरि नयाँ मोड लिएको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा सोमबार दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच लामो छलफल भएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्थाले पार्टी विवादलाई जटिल बनाएको निश्कर्ष निकाल्दै छलफलमा अब कुनै पनि बाहनामा स्थायी समिति नरोक्ने सहमति भएको सहभागी एक नेताले अन्नपूर्ण अनलाइनलाई बताए।
पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि प्रधानमन्त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। असार १० गते सुरु भएको बैठक अहिलेसम्म आठपटक स्थगित भइसकेको छ। साउन १३ गते मंगलबार बोलाइएको बैठक ओलीले रोक्न खोजे अर्का अध्यक्ष प्रचण्डले अघि बढाउने सहमति खुमलटार बैठकमा भएको छ। चार नेताबीचको छलफलअघि सोमबार बिहान प्रचण्डले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग पनि छलफल गरेका थिए।
पछिल्लोपटक साउन ९ गते ओली र प्रचण्डबीच पौने घन्टा छलफल भएको थियो। त्यसपछि पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको र उनकै सक्रियतामा निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएका थिए। प्रचण्डको यो अभिव्यक्तिपछि पार्टी किचलोले फेरि अर्को मोड लिएको हो।
असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्।
पछिल्लो पटक एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन्। ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्ने बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो। स्थायी कमिटीको असार १६ गतेको बैठकमा अध्यक्ष 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीबाट राजीनामा मागेपछि आन्तरिक कहलले झन् गम्भीर रुप लिएको हो। पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्त्री ओलीले असार १८ गते आकस्किक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि अवस्था थप जटिल भएको हो।
यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्न सकेको छैन। अन्नपुर्ण पोस्ट बाट साभार










