काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति नजुटेको भन्दै आगामी बैठकको मिति नतोकी स्थगित भएसँगै नेकपाको बैठक अनिश्चित बनेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ ।
पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको सत्ता संघर्षका कारण नेकपा फुटको नजिक पुगेको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गर्ने निचोडमा दाहाल पक्षीय नेताहरु पुगेका बेला ओलीले बैठक नै स्थगित गर्नुभएको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्षमा रहेका दाहाल र माधव नेपालसहितका नेताहरुले सोमबार बैठक गरी अब बहुमतबाटै निर्णय लिने सहमति गरेका थिए ।
पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका थिए ।



