काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् । बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् । बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् । उनीहरुले बुझाएको हस्ताक्षरसहितको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ विवाद समाधानका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग गरेका छन् ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने अडान लिएका छन् भने अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाललगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् । यसबारे पार्टीमा विवाद चर्किँदै गएपछि केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर अभियान चलाइएको थियो ।

केन्द्रीय समितिको एक चौथाइ सदस्यले केन्द्रीय समितिको माग गरेपछि बैठक बसाउन सकिने प्रावधान अनुसार नै हस्ताक्षर अभियान चलाइएको हो । नेकपामा ४४४ जनाको केन्द्रीय कमिटी रहेको छ ।