दमक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको आजको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ । वार्ताले आज फरक मोड लिन सक्ने कतिपयले अनुमान गरेका थिए । तर त्यो हुन सकेन् । यद्यपी वार्तालाई निरन्तरता दिने भनिएको छ । आज झण्डै साँडे ३ घण्टा बार्ता चलेपनि ठोस केहि निर्णय हुन सकेन् ।

असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसयता सहमतिका लागि भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि अहिले सम्म सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीलाई हटाउन चलखेल शुरु भएपछि पार्टी फुटको नजिक पुगेर पनि बचेको कतिपयले प्रतिक्रिया दिएका छन् ।

ओलीलाइ हटाउन उनीमाथी दबाब बढाएकै बेला नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ताका लागि एउटा टोली गएपछि नेकपा भित्र ठूलै खैलाबैला मच्चिएको थियो । त्यसबाट कतिपय नेता ससंकित पनि भएका थिए भने कतिपयले ओलीकै योजनामा एमाले ब्युझाउने खेल भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि झनै दुइ अध्यक्षको दुरी बढेको थियो ।

प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने लाइनमा अर्का नेता माधब कुमार नेपाल पनि भएकाले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई केहि बल भने मिलेको थियो । तर पार्टी भित्रकै केही नेताहरुले पार्टी फुटबाट जोगाउन भन्दै पाटी केन्द्रीय कार्यालय अगाडी धर्ना नै बसे ।

झापाका नेता रविन कोइराला लगायत नेताहरु धर्नामा बस्दा नेतृत्वलाई केहि दबाब भएपनि देशभर नै प्रधानमन्त्री ओलीको पक्षमा कार्यक्रम भयो । सरकार ढाल्ने खेल शुरु भएको भन्दै पूर्व एमालेका ओली पक्षका नेता कार्यकर्ताले देशभर नै प्रदर्शनलाई तिब्र बनाएका थिए ।

सो प्रदर्शन केही दिन चल्यो पनि । जुन ओलीको गृह नगर तथा निर्वाचित क्षेत्रमा पनि भएको थियो । तर पुर्व एमाओवादीहरु भने सो ओलीको पक्षमा गरिएका प्रदर्शनमा उपस्थित भएका थिएनन् ।

ओलीको पक्षमा देशभर पुर्व एमालेको प्रदर्शन भएपछि नेतृत्वमा रहेका पुर्व एमालेमा केहि फरक सोच आएको थियो । जसका कारण बामदेव गौतम, डा. भीम बहादुर रावल पनि पुरै टर्न भए ।

तरपनि ओलीलाई दुबै पदबाट हटाउने अर्का नेता माधब कुमार नेपालको अडान भने कायमै थियो । जसका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि आफ्नो अडानमै रहे ।

तर ओलीले कुनै पनि हालतमा दुबै पद नछाड्ने बताएपछि अहिले दाहाल र नेपाल केहि पछि हटेको कतिपयको बुझाइ छ । तरपनि ओली र दाहालबीच अझै कसरी जाने भन्ने विषयमा सहमति हुन नसकेकाले पार्टी एकता कता जाने हो भन्ने टुङ्गो लागेको छैन् ।

आजको बैठकमा नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास चन्द्र नेम्बाङ्गको पनि उपस्थिति रहेको बताइए पनि उनीहरुको भूमीकाले पनि खासै काम गरे जस्तो भने देखिएन् ।

स्थिर सरकार निर्माण गरी देश समृद्धितर्फ लाने भन्दै पार्टी एकता गरी बनेको दुई तिहाइको सरकार ढलाउने गरी नेतृत्व लाग्नु गलत भएको भन्दै कार्यकर्ताहरुमा निराशा छाएको छ ।

यसलाई कतिपयले विदेशी डिजाइनको पनि संज्ञा दिएका छन् । देश कोरोना संक्रमणसँग जुधिरहेका बेला सरकार र नेतृत्व परिवर्तनको खेलमा नेतृत्व लाग्नुलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ ।