चितवन । प्रधानमन्त्री केपी ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो बढाउनुभएको छ । उहाँले आज माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्न आज बोलाउनुभएको छ । सुवेदीका अनुसार प्रधानमन्त्री ओलीले चासोपूर्वक त्यहा के कस्ता संरचना छन्, केके बनाउनुभएको छ ।
भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ, तुरुन्तै काम अघि बढाउनुपर्यो भनि जिज्ञासा राख्नु भएको छ ।
प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानकोसमेत बलियो आधार भएको बताउनुभएको सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ । हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्विक सामग्रीको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पूजा गरी काम शुरु गरिने बताउनुभएको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
माडी नगरपालिका प्रमुख ठाकुर ढकालले आज प्रधानमन्त्री ओलीले भेटघाटका लागि बोलाउनुभएको जानकारी दिनुभयो । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।










