आयुर्वेदीय स्वास्थ्य पद्धति : न स्थिर, न अरु पद्धतिको इन्कार । कस्तो थियो त आजभन्दा एक हजार वर्ष अगाडिको आयुर्वेदिक साहित्य ? के आयुर्वेदलाई आज जसरी जुन रूपमा बुझिन्छ, त्यसैगरी विगतका शताब्दीमा कसरी बुझिन्थ्यो होला भनेर जिज्ञास हुनु स्वाभाविकै हो ? अनि फेरि आयुर्वेदका प्रमुख संहिताहरु जस्तै चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टाङ्गहृदयसंहिताले स्वास्थ्यसम्बन्धी जे जस्तो चित्रण गरेका थिए, यसपछाडिका ग्रन्थहरुमा कसरी त्यस्ता चित्रणलाई प्रस्तुत गरियो भन्ने उत्सुकता हुनु स्वाभाविकै पनि हो ।
Big EducationMayaz Wax
अघिल्लो हप्ताको आलेखमा सन् १००० को हाराहारीसम्म आइपुग्दा आयुर्वेदका कुन प्रमुख ग्रन्थहरु थिए भन्ने संक्षिप्त चर्चा गरिएको थियो भने यस आलेखले सोही ऐतिहासिक श्रंखलालाई निरन्तरता दिएको छ । यसमा स्वास्थ्यसम्बन्धी आयुर्वेदिक चिन्तनहरु पनि समयसँगै परिवर्तन अनि विकास भइरहेको थियो भन्ने कुरामा उजागर गर्ने प्रयास गरिएको छ ।
(गत हप्ताको आलेख यहाँ छ)
आयुर्वेदका प्रमुख तीन संहिताको त विशेष भूमिका छँदै छ । त्यसैगरी माधवनिदान भन्ने ग्रन्थको पनि रोचक भूमिका रहेको छ । माधवनिदान वा रोगविनिश्चय भन्ने ग्रन्थको रचना माधवले गरेका हुन् । माधव को हुन् भन्ने बारेमा यस ग्रन्थमा केही बताइएको छैन । तर माधवनिदान ग्रन्थको पुष्पिकावाक्यअनुसार माधव, श्रीमाधव वा आधवकर भनेर बताइएको छ ।
तर यही ग्रन्थको टीका, मधुकोशका टीकाकार, विजयरक्षितले माधव र माधवकर भनेर यस ग्रन्थकारको नाम उल्लेख गरेका छन् (मूलेनबेल्ड्, गेरिट यान, ए हिष्ट्री अब् इण्डियन् मेडिकल् लिट्रेचर १९९९–२००२, ठेली ड्बल् आइ ए, ७०–७१) । सिद्धयोग भन्ने अर्को ग्रन्थको टीकाकार श्रीकण्ठदत्तले माधवकार भनेका छन् । हस्तलिखित ग्रन्थका पुष्पिकावाक्यमा उनको पिताको नाम चन्द्रकर भनेर उल्लेख गरिएको पाइन्छ । माधवनिदानको रचनाकालका बारेमा चर्चा गर्नुपर्दा ठ्याक्कै भन्न सक्ने हामीसँग बलियो प्रमाण छैन तर पनि यस ग्रन्थले चरकसंहिता, सुश्रुतसंहिता अनि अष्टांङ्गहृदयसंहिता, अष्टांङ्गसंग्रह र सिद्धसार जस्ता ग्रन्थहरुबाट श्लोकहरु सापटी लिएबाट यस ग्रन्थको रचना कालखण्ड इसाको ६५० भन्दाअगाडि हुन सक्दैन ।
आयुर्वेदको अर्को रोचक पक्ष के हो भने यसले पाकशास्त्रलाई पनि समेटेको छ । आयुर्वेदीय औषधि बनाउने कला पाकशास्त्रसँग सम्बन्धित छ ।
माधवनिदान आफ्नो कालखण्डमा निकै नै चर्चित थियो भन्ने प्रमाणका रूपमा अरबी लेखकहरुले यस ग्रन्थका बारेमा उल्लेख गरेबाट पनि प्रस्ट हुन्छ । इबिन् अबी उषाय्बिुअ (मृत्यु सन् १२७०) ले माधवनिदानको उल्लेख गरेका छन् । माधवनिदानको विषयवस्तुका बारेमा संक्षिप्तमा चर्चा गरौं ।
माधवनिदान नै सबैभन्दा पहिलो ग्रन्थ हो, जसमा निदानको विशद् व्याख्या गरिएको छ । पहिलो अध्यायमा निदानका पाँच किसिमको चित्रण गरिएको छ । बाँकी अठषष्ठि अध्यायमा निदान, पूर्वरूप, रूप अनि सम्प्राप्तिको व्याख्या–विश्लेषण गरिएको छ । त्यसैगरी निको नहुने रोगहरुको लक्षणहरुका बारेमा पनि बताइएको छ ।
यस ग्रन्थमा जम्मा १५३० श्लोकहरु छन् । माधवनिदानले केही नयाँ रोगहरुको प्रस्तुति पनि गर्दछ, जुन पूर्वसंहिताहरुमा उल्लेख गरिएको छैन । शूल (घोचेको जस्तो), विस्फोट (छाला पोल्ने जस्तो रोग) यी दुई रोगलाई छुट्टै रोगका रूपमा पेस गरेको छ यस ग्रन्थमा । यद्यपि यी दुवै समस्याको उल्लेख पूर्वसंहिताहरुमा उल्लेख नभएको चाहिँ होइन । तर विशद् रूपमा व्याख्या चाहिँ यही ग्रन्थमा पहिलो पटक गरिएको छ । यसरी नै अरु नयाँ रोगहरु पहिलोपटक प्रस्तुत गरिएको छ, जस्तै आमवात, मेदोरोग, शीतपित्त, अम्लपित्त, मसूरिका इत्यादि ।
प्रमुख संहितापछिको अर्को महत्त्वपूर्ण ग्रन्थ सिद्धयोग । सिद्धयोगको रचनाकालका बारेमा योलीको मतानुसार इसाको दसाैँ शताब्दीभन्दा अगाडि हुनुपर्दछ (योली, युलिअस् १९०१, मेडिसिन्ः ग्रुण्डराइज् डेर् इण्डो-आरिशेन् फिलोलोगि उण्ड आल्टरटुम्स्कुण्डेः ७) । यस ग्रन्थको रचनाकार वृन्द हुन् । उनका बारेमा पनि खासै जानकारी छैन । उनी हालको बंगलादेशमा बसेको हुन सक्ने कुरा पछिका लेखक निश्चलकरले उल्लेख गरेका छन् ।
सिद्धयोग ग्रन्थमा ८२ अध्याय छ र ३७२८ श्लोकहरु अनि केही गद्य पनि छ । पहिलो श्लोकमा शिव र चण्डी अनि धन्वतरि, सुश्रुत तथा अन्य ऋषि र आत्रेयको प्रशंसा गरिएको छ । यस ग्रन्थ माधवनिदानको स्वरूपमा लेखिएको भए पनि केही थोरै फरक पनि छ किनकि यस ग्रन्थमा शूल, ज्वरातिसार, परिणामशूल आदिको छुट्टै अध्याय छ । वृन्दलिखित यस ग्रन्थले चरक, जेज्जट, वाग्भट अनि वृद्धवैद्य जस्ता पूर्व आचार्यहरुको ग्रन्थहरुबाट विषयवस्तु साभार पनि गरेको छ ।
हालसम्मको अनुसन्धानबाट परादको प्रयोगलाई समुचित स्थान दिलाउने काम अरेबिक स्वास्थ्य पद्धतिबाट प्रभावित भएर गरिएको हो भन्ने विद्वत्मत रहेको छ ।
नयाँ सहश्राब्दीको सुरुवातसँगै आयुर्वेदिक साहित्यमा पनि थप नयाँ प्रयोगहरु भए । शार्ङ्गधरसंहिता जुन इसाको चौधौं शताब्दीमा रचना गरिएको हो । (भूजास्टिक, डोमिनिक, द रुट्स् अब् आयुर्वेद २००३ः २५५) ले सर्वप्रथम नाडीपरीक्षा जस्ता नयाँ प्रयोग गरेको पाइन्छ । जर्मन संस्कृतविद् तथा आयुर्वेदका एक अग्रणी अध्येता युलिअस योलीको मतमा नाडीपरीक्षणको प्रयोग भारतमा इस्लामिक वा पर्शियन (इरानी) प्रभावबाट भएको हो (योली, युलिअस् १९०१, मेडिसिन्ः ग्रुण्डराइज डेर इण्डो–आरिशेन फिलोलोगि उण्ड आल्टरटुम्स्कुण्डेः १८) । शार्ङ्गधरसंहिताको तृतीय अध्यायमा नाडीपरीक्षाको विस्तृत व्याख्या गरिएको छ । उदाहरणार्थ यहाँ केही श्लोकहरुको चर्चा गरिन्छ ।
करस्यांगुष्ठमूले या धमनी जीवसाक्षिणी ।
तच्चेष्टया सुखं दुःखं ज्ञेयं कायस्य पण्डितैः ।। १ ।।
(हातको बूढीऔँलाको फेदमा जुन धमनी छ, सो जीवनको साक्षी हो । पण्डित वा ज्ञाताले सोही धमनीको चेष्टाबाट शरीरको सुस्वास्थ्य र दुःस्वाथ्यका बारेमा जान्नुपर्दछ ।। (अनुवादः आलेखकार आफैँ)
नाडीको विविध लक्षणका बारेमा चर्चा गर्ने क्रममा उत्तम नाडीको लक्षण कस्तो हुन्छ भन्ने बारेमा पनि चर्चा गरिएको छ ।
लध्वी वहति दीप्ताग्रेस्तथा वेगवती भवेत् ।
सुखितस्य स्थिरा ज्ञेया तथा बलवती मता ।। ८ ।।
(यो नाडीे हल्का हुन्छ अनि वेगले चल्छ, जसको पाचन बलियो हुन्छ । स्वास्थ्य राम्रो भएको व्यक्तिमा नाडी स्थिर अनि बलवान् हुन्छ ।। –अनुवादः आलेखकार आफैँ)
सन् १००० पछिको आयुर्वेदीय कालखण्डमा अर्को विशेष कामको थालनी रसशास्त्र सम्बन्धित ग्रन्थहरुको रचनाबाट हुन थाल्यो । विभिन्न धातुहरुको प्रयोग, पराद अर्थात् पारो वा मर्करीको प्रयोग यही कालखण्डबाट पद्धतिगत रूपमा सुरु भयो ।
परादले सबै रोगलाई निको पार्छ भनेर नरहरिले राजनिघण्टुमा उल्लेख गरेका छन् । यसरी परादलाई ज्वरो, झाडावान्ता, जन्डिसको रोग अनि फोक्सोको रोगको उपचारका लागि सिफारिस पनि गरिएको छ । हालसम्मको अनुसन्धानबाट परादको प्रयोगलाई समुचित स्थान दिलाउने काम अरेबिक स्वास्थ्य पद्धतिबाट प्रभावित भएर गरिएको हो भन्ने विद्वत्मत रहेको छ ।
रसप्रदीप, रसामृत, रसेन्द्रचिन्तामणि जस्ता प्रमुख रसशास्त्रीय ग्रन्थहरूको विशेष स्थान रहेको छ, जुन कुराको पुष्टि भावप्रकाश भन्ने अर्को महत्त्वपूर्ण गन्थले यी ग्रन्थहरुलाई उल्लेख गरेबाट पनि हुन्छ । रसचिन्तामणि, रसदर्पण, रसरत्नप्रदीप, रसरत्नावलि, रसरहस्य, रसराजहंस, रससिन्धु, रसार्णव, रसावतार जस्ता ग्रन्थहरुको उल्लेख आयुर्वेदसौख्य भन्ने ग्रन्थमा गरिएको छ ।
आयुर्वेदीय स्वास्थ्य पद्धति स्थिर थिएन न त यसले अरु स्वास्थ्य पद्धतिलाई इन्कार गरेको थियो ।
आयुर्वेदको अर्को रोचक पक्ष के हो भने यसले पाकशास्त्रलाई पनि समेटेको छ । आयुर्वेदीय औषधी बनाउने कला पाकशास्त्रसँग सम्बन्धित छ । बृहत्पाकावली भन्ने ग्रन्थले विशद् रूपमा पाकसम्बन्धी चर्चा गरेको छ । यही ग्रन्थले पाकशास्त्र र रसशास्त्र सम्बन्धित छ भनेको छ । यसमा एकहत्तर वटा औषधीय पाकविधिहरु प्रस्तुत गरिएको छ । पाकविधि, रेसिपी, इन्ग्रिडेन्ट इत्यादिको पनि उल्लेख गरिएको छ । यस ग्रन्थको रचनाकाल इसाको बाह्रौँ शताब्दीलाई मानिएको छ ।
त्यसैगरी, पाकदर्पण वा नलपाक भन्ने ग्रन्थ पाककलासँग सम्बन्धित छ । यस ग्रन्थमा ७६० श्लोकहरु छन् र एघार अध्यायमा विभक्त छ । यस ग्रन्थलाई चक्तपाणि, डल्भण जस्ता ग्रन्थकारहरुले पनि उल्लेख गरेका छन् । गणेशशर्मनले यस ग्रन्थको रचना गरेका हुन् । पाकावली भन्ने अर्को ग्रन्थमा औषधी बनाउने सूत्रहरुको वर्णन गरिएको छ ।
नाडीशास्त्रअन्तर्गत धेरै ग्रन्थहरु छन् । माथि उल्लेख गरेजस्तै शार्ङ्गधरसंहिताले नाडीपरीक्षाको थालनी गरेको हो । यसको अतिरिक्त अन्य महत्त्वपूर्ण ग्रन्थहरु पनि छन् । जसले आयुर्वेदमा नाडीशास्त्रको उपस्थितिलाई मजबुत गरेका छन् । नाडीचक्र भन्ने एक महत्त्वपूर्ण ग्रन्थमा नाडी परिक्षणसंग सम्बन्धित विशेष व्याख्या गरेको छ । यस ग्रन्थमा २९२ श्लोकहरु छन् र जम्मा १२ अध्याय छन् । यो ग्रन्थ शिव र पार्वतीको संवादका स्वरूपमा छ । अनि मंगलाचरण श्लोकले शिवलाई सम्बोधन गरेको छ । शिवले पार्वतीलाई नाडीशास्त्र प्रदान गर्दै भन्छन्– ७२००० नाडी छन् भनेर ऋषिमुनिले भनेका छन् । कसले यो ग्रन्थ लेख्यो भन्ने कुरा अझै अज्ञात छ । तर पनि एउटा कुरा के प्रस्ट छ भने यो ग्रन्थ शार्ङ्गधरसंहिताभन्दा पछाडिकै हो । दुवै ग्रन्थमा धेरै समान श्लोकहरु छन् ।
यसरी आयुर्वेदीय स्वास्थ्य पद्धति स्थिर थिएन न त यसले अरु स्वास्थ्य पद्धतिलाई इन्कार गरेको थियो । यस पद्धतिले समयानुकूल आफूलाई अगाडि बढाइरहेको थियो । आद्यकालका शास्त्रीय संहिताहरुको सङ्कलन सम्पादन अनि टीका अनि मध्यकालमा अरु स्वास्थ्य पद्धतिबाट नाडीशास्त्र, रसशास्त्र जस्ता विशिष्ट उपपद्धतिलाई एकाकार गर्दै अगाडि बढेको देखिन्छ ।
यस आलेखले इसाको चौधौं शताब्दीसम्मको कालखण्डमा भएका आयुर्वेदीय ज्ञान सम्प्रेषण अनि अन्य स्वास्थ्य पद्धतिबाट आफूले नयाँ प्रयोग गरेको कुरालाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । अर्को साता फेरि भेटौंला ।
(आलेखकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन् ।) नेपाली पब्लिक बाट साभार



