पार्टी महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक झण्डै २ घण्टादेखि बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बिहान साढे ११ बजे बैठक शुरु भएको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, महाधिवेशन तयारी लगायतको विषयमा छलफल भइरहेको सचिवालयका एक सदस्यले जानकारी दिए । पार्टीभित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनका लागि सुझाव दिएको थियो ।
२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित छन् ।
भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।










