डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ । जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश ठकुल्लाका अनुसार नेपाल सरकारले तोकेको जनस्वास्थ्यको मापदण्डअनुसार कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामका उपाय अपनाइएको छ ।
संक्रमण भएका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखिन्छ र त्यहाँ जाँच गर्दा कोरोना लक्षण नदेखिएको खण्डमा डिस्चार्ज गर्ने गरिन्छ । उहाँका अनुसार स्वाब परीक्षणबाट पोजेटिभ देखिएका ९६ प्रतिशत कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर जाँच गर्दा लक्षण नै नदेखिने गरेको छ । खासगरी स्थानीयमा रोग प्रतिरोधात्मक क्षमता बढी भएका कारण कोरोनाको संक्रमण छिट्टै निको हुने गरेको पाइएको डा. ठकुल्लाको अनुभव छ ।
पछिल्लो समय भारतबाट पनि पहिला जस्तो भद्रगोल रुपमा र ठूलो संख्यामा नेपाली आउनेक्रम कम भएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा पर्याप्तमात्रामा आइसोलेशन तथा कोरोना संक्रमितले नियमपूर्वक घरैमा बसेका कारण कोरोना निको हुनुका साथै समुदायमा सर्न नपाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमितले नियमपूर्वक घरैमा बस्नुका साथै बेसार पानीलगायत स्थानीय जडीबुटी खाएर निको भए र अन्यत्र नघुमेका कारण जिल्लामा कोरोना समुदायमा सर्न पाएन ।’
कोरोना संक्रमितले उच्च मनोबलका साथ रहने, नआत्तिइ बस्ने, नियमित व्यायाम गर्ने, स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर सजकता अपनाउने, तातो र झोलिलो पदार्थ पिउने गर्नाले कोरोना भाइरसलाई परास्त गर्न सकिने मलासीले सुझाव दिनुभएकाे छ । जनता समाचार बाट साभार










