काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

यसरी छलफल र प्रस्ताव पेश गर्नका लागि प्रदेशसभाले तीन दिनको समय राख्ने गरी तयारी गरेको छ । सोमबार र मङ्गलबार छलफल चलाएर बुधबार निर्णयार्थ पेश गर्ने तयारी सदनको छ । प्रदेशसभा राजधानीसम्बन्धी निर्णयलाई अबको तीन दिनभित्र सक्ने गरी आन्तरिक तयारीमा जुटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यविधिअनुसार संशोधन प्रस्ताव र सांसदले धारणा राख्न माग गर्ने समयअनुसार छलफल कति लामो हुने भन्ने तय हुने छ । राजधानीको प्रस्तावमाथि छलफल सकिएको भोलिपल्ट नै प्रदेशसभाले राजधानी र नामकरण टुङ्ग्याउने छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रस्तावका पक्षमा दुई तिहाई नपुगेका खण्डमा भने संशोधन प्रस्तावमाथि मतदान हुने छ । मतदानका लागि सम्पूर्ण तयारी गरिएको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि संशोधन पेश गर्नका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ ।

यही असोज १६ गते प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । प्रस्ताव पारित हुनका लागि प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ५८ जनाको पक्षमा मत चाहिन्छ । संविधानले प्रदेशसभाका कुल सदस्यको दुई तिहाइ मतले प्रदेश राजधानी तोक्ने र नामकरण गर्न सकिने उल्लेख गरेको छ ।