काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग आग्रह गर्नु भएको छ ।

चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै २३ दिनदेखि आमरण अनशनरत डा. केसीसँग तत्काल वार्ता थाल्न उहाँहरुले सरकारलाई आग्रह समेत गर्नुभएको छ । दुबै नेताले डा. केसीको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएकाले ढिलाई नगरी तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता खनालले केसीको जीवनप्रति सरकार संवेदनशील हुनुपर्ने भन्दै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न चाँडो कदम चाल्नुपर्ने बताउनुभयो । त्यस्तै नेता नेपालले पनि डा. केसीको ज्यान बचाउनु पहिलो प्राथमिकता भएकाले संवाद थाल्न ढिलाई नगर्न आग्रह गर्नुभएको छ।