बुटवल। प्रदेश नम्बर ५ को स्थायी राजधानी र नाम टुंगो लागेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी भएको छ ।
मंगलबार प्रदेशसभाको बैठकमा भएको मतदानबाट दुईतिहाइ बहुमतका साथ दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित भएसँगै राजधानीको टुंगो लागेको हो ।
मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेशसभामा ८७ सदस्य रहेकोमा मंगलबार मतदानमा ८२ सांसद उपस्थित भएका थिए ।
प्रदेशसभामा मतदानमा देउखुरीको पक्षमा बहुमत आएसँगै स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।
त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पनि दुईतिहाइ बहुमतले पारित भयो । सो प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको थियो ।










