बुटवल। आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो। अस्पतालका अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो।
संक्रमित पुरुषमा उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो। असोज १५ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा १६ गते कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई बुटवलमा रहेको कोरोना अस्पतालको आईसीयूमा राखिएको थियो। उपचारका क्रममा उनको आज विहानको राति मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै बुटवलकी कोरोना संक्रमित महिलामा सुक्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान साढे ५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।










