काठमाडौं । आज अक्टोबर ८ तारिख अर्थात् विश्व दृष्टि दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्‍यसहित विश्व दृष्टि दिवस मनाइएको बताए ।

आँखामा सानो हेलचेक्रयाई गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उनको भनाइ छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्ने बताए । मधुमेह भएका बिरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगायत समस्या देखिने गरेको बताए ।

विश्व आँखा दिवसका अवसरमा खासगरी मधुमेहका बिरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताए । विश्वमा प्रत्येक ८ जना आँखाको बिरामीमध्ये एकजना मधुमेहका कारण बिरामी भएको तथ्याङ्‍क छ । नेपालमा ४ जनामध्ये १ जना मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्‍क रहेको डा. शाक्यले बताए । विश्व दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

-प्रतिकात्मक तस्बिर ।