भक्तपुर, २३ असोज । भक्तपुरमा जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीबार स्थानीय ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई शुरुमा उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो । ग्रिनसिटीमा उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिइन् ।

कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । कुटपिटपछि फरार व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको थापाले बताइन् ।