अभिषेक सापकोटा काठमाडौं । दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुराना सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारीहरु देखिन्छन् । तर, यस्तो बजारमा उपभोक्ताहरु ठगिन सक्नेतर्फ उपभोक्ताकर्मीहरुले सचेत गराएका छन् ।
दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यका भित्रका मुख्य बजारहरु सेल अफरले तातेको छ । विशेषगरी लत्ताकपडा, जुत्ता लगायतका फेन्सी पसलहरुमा सेल अफर र विभिन्न छुटका अफर टाँसिएका ब्यानरहरु प्रसस्तै देखिन्छ । व्यापारीहरुले १० देखि ६० प्रतिशतसम्म छुट दिई अफर ल्याएका छन् । लामो समय लकडाउनका कारण व्यापार गर्न नपाएको र पुरानो समान स्टक रहने स्थिति आएपछि स्टक क्लियरेन्सका लागिसेल अफर ल्याएको व्यापारीनानी थापाले बताए ।
लकडाउनमा व्यापार गर्न नपाएपछि घरभाडा लगायतको दायित्व व्यहोर्नका लागि आफूसँग भएको स्टक सामान विक्री गर्नुपरेको व्यापारीहरुको भनाइ छ । यस्तो अवस्थामा खरिद मूल्यभन्दा पनि कम मूल्यमा सामान विक्री गर्न बाध्य हुनुपरेको अर्का व्यापारी कृष्ण लाम्गाडेको गुनासो छ ।
उपभोक्ताकर्मीहरु भने पर्वलाई लक्षित सेल अफरको बजारलाई नियमन गर्नुपर्ने बताउँछन् । सेल अफरमा राखिएका सामानहरुको वास्तविक गुणस्तर र मूल्यको जानकारी नहुने र उपभोक्ताले पनि ढुक्क भएर खरिद गर्न पाउने अवस्था नरहेकोले नियमन जरुरी रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाको दाबी छ ।
सेल बजारमा सस्तोमा समान पाउने भएपनि त्यसको गुणस्तरको विषयमा भने खुलाइएको हुँदैन । यसबाट उपभोक्ताले सही समान पाउन सक्छन्वा सक्दैनन् भन्ने ग्यारेन्टी नभएको उपभोक्ताकर्मीहरु बताउँछन् । जनता सामाचार बाट










