ओखलढुंगा । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका हुन् ।विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताए ।

कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव समेत दिए । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खसी उपहार दिन कारागार पुगेका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताए । कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गरे । कारागारको समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिश गरिएको उनको भनाइ थियो ।