प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य जारी गरेर प्रधानमन्त्री र रअ प्रमुख गोयलबीच भेटवार्ता भएको पुष्टि गर्नु भएको हो । रअ प्रमुख भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थापाको बक्तव्यमा उल्लेख छ ।
भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा गोप्य भ्रमण सकेर बिहीबार फर्किनु भएको हो । बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा आइपुग्नु भएका गोयल सोही विमानमा बिहीबार नयाँ दिल्ली फर्किएको बताइएको छ ।
गोयल आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रहेको छ । भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएको छैन ।
दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । गोयल यसअघि सन् २०१९ को जुलाईमा नेपाल आउनु भएको थियो ।










