हिमाली जिल्ला हुम्लाको ताजाकोट गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि गाउँ कार्यपालिकाको बैठकले पालिका भित्रिने सबै नाका सिल गर्ने निर्णय गरेको छ ।
मंगलवार सम्पन्न कार्यपालिका बैठकले सिल गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए । उनका अनुसार दशैंको अवसरमा पूर्णिमासम्म पालिकामा टीका थाप्ने प्रचलन रहेको र त्यसबाट कोरोना संक्रमण तीव्र रूपमा फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै कार्यपालिकाले सिल गर्र्ने निर्णय गरेको छ ।
बाजुरा जिल्लाको कवाडी नाका र मुगु जिल्लाको तिर्थसैन नाकाबाट ताँजाकोट गाउँपालिकामा मानिसहरू आउने भएकाले पूर्णिमासम्मका लागि ती सबै नाकाहरू बन्द गराइदिन प्रहरीलाई कार्यपालिकाले आग्रह समेत गरेको छ ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकामा भएको कवाडी प्रहरी चौकी र छर्पेला प्रहरी चौकी, सबै वडा र नाकामा सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिए ।











