दमक/धिमाल जातिय विकास केन्दको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण प्रभावित भएको छ । केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गरी कार्तिक १३, १४ र १५ गते दमकको रोयल पार्टी प्यालेसमा गर्ने तय भएको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण स्थगित भएको जनाएको हो ।

संस्थाका अध्यक्ष तेजबहादुर धिमालले अहिलेको बिषम परिस्थितिमा महाधिवेशनको अन्तीम तयारी हुदा हुदै पनि सुरक्षाकर्मी र सहभागि हुनुपर्ने प्रतिनिधिहरुकै आग्रहलाई मध्यनजर गर्दै अर्को निर्णय नभए सम्मका लागि महाधिवेशन स्थगित गर्नुपरेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो पार्टी प्यालेसमा महाधिवेशनका लागि कतिपय सहभागि प्रतिनिधिहरु आउदै गर्दा सहभागिको संख्या २५ भन्दा धेरै भएको सूचना स्थानीय प्रहरी प्रशासनमा पुगेपछि औपचारिक रुपमै महाधिवेशन स्थगित गर्नुपरेको उनको भनाई छ । महाधिवेशन स्थगित भएपछि संस्थाका सल्लाहकारहरुको एक समुहले आफनो नेतृत्वको कार्य समितिलाई असक्षम र अयोग्यको बिल्ला भिराउने प्रयास गरेको प्रति भने संस्थाका नेतृत्वकर्ताहरुले आपत्ति जनाएका छन । परिस्थितिको गाम्भिर्यतालाई नबुझि सल्लाहकारहरुले जुन कदम चाल्नु भएको छ त्यो दुखद बिषय हो – केन्द्रका महासचिव केदार धिमालले भने ।

केन्द्रय सल्लाहकारहरु ५ जनाको नाम नै किटेर सो संस्थाले २०५३ सालमा जस्तै संस्थालाई निकम्मा बनाउन खोजिएको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ । २०७३ सालमा विर्तामोडमा भएको संस्थाको महाधिवेशनबाट ३ बर्षका लागि निर्वाचित गरेको आफूहरुसहितको कार्यसमिति भंग भई महाधिवेशन आयोजक समिति समेत गठन भइसकेको अवस्थामा कार्यसमिति माथि असक्षमता र अयोग्यताको बिल्ला भिराइनु खेदजनक भएको महासचिव केदार धिमालले बताए ।

सो संस्थाको महाधिवेशनका लागि विधान अनुसार झापासहित चार जिल्लामा रहेका १०३ टोलका करिब ४ सय प्रतिनिधिहरु सहभागी हुनुपर्नेमा अहिले २५ जना भन्दा बढी संख्यामा मानिसहरु भेला भएर गरिने काम कार्यक्रमहरुमा प्रशासनद्धारा रोक लगाइएको कारण महाधिवेशन गर्न असम्भव हुने जिकिर नेतृत्वकर्ताहरुको छ । केन्द्रका नेतृत्वले यथाशक्य छिटो अहिलेका मुख्य चाडपर्वहरु मनाई सकेपछि महाधिवेशन मूल आयोजक समितिको बैठक बसेर समस्याका बिषयमा छलफल गर्ने र महाधिवेशनको प्रकृया चलाइने पनि स्पष्ट पारेको छ ।