झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा निषेधाज्ञा जारी गरिएको छ । शिविर प्रमुख सुरेन्द्रराज दहालको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा गर्ने निणर्य गरेको हो । निषेधाज्ञा मंसिर २ गते सम्मका लागि तोकिएको छ ।
बैठकमा शिविर सचिव कृष्ण बहादुर सुब्बा, शिविरका चार ओटै सेक्टरका सेक्टर प्रमुखहरु, शसस्त्र प्रहरी बेलडाँगीका प्रतिनिधि, सामुदायिक मेलमिलाप केन्द्र बेलडाँगीका संयोजक शुकराज राई, सिडब्लुटि बेलडाँगीका सह-संयोजक मंगलसिं राई, खानेपानी व्यवस्थापन समितिका संयोजक टेक बहादुर राई लगायत १३ जनाको उपस्थिति रहेको थियो ।
शिविरमा दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कोरोना संक्रमण फैलन नदिन यस्तो निणर्य गरिएको शिविर प्रमुख दहालले जानकारी दिनुभयो । शिविरमा दुई पांग्रे सवारीलाई समेत संचालनमा पूर्ण रुपमा निषेध गरिएको छ । यद्यपि शिविरमा विहान ८ बजेदेखि १० बजे सम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म पसल तथा सवारी साधन संचाल गर्न भने पाईने प्रमुख दहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, तोकिएको समय भन्दा अन्य समयमा हिड्डुल गरे प्रचलित कानुन बमोजिम कार्वाही गरिने छ । शिविरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु समेत भइसकेको पनि दहालले जानकारी दिनुभयो । शिविर दमक नगरपालिका वडा नम्बर ३ मा रहेको छ । विगत २८ वर्षदेखि भुटानी शरणार्थीहरु सो शिविरमा बस्दै आएका छन् ।










