पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्राईले नेकपा सर्वाधिक कठीन समयबाट गुज्रिएको बताएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा योगेशले छोटो सन्देश लेखेका छन–‘सर्वाधिक कठीन समय !’ पार्टी विवाद उत्कर्षमा पुगेको बेला बुधवारका लागि निर्धारित सचिवालय बैठक बस्ने नबस्ने अन्यौल छ । भट्टराईको टिप्पणीलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि नेकपा विवाद जटिल मोडमा पुगेको छ ।
ओली पक्षका नेताहरुले प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने बताउँदै आएका छन् । प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने अडान लिएका छन् । प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षको दवाव र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण आजको लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ ।
सचिवालय बैठक बोलाउन माग गर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो । शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो । राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसँगै नयाँ चरणमा प्रवेश गरेको छ ।
https://twitter.com/yogesbhattarai/status/1328886265186373633?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1328886265186373633%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F124415%2F2020%2F11%2F18%2Fyogesh-bhattarai-










