काठमाडौं । गण्डकी विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले सबै पक्षलाई समेटेर जाने बताएका छन् । देवकोटा बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा चयन विमति जनाउँदै वोर्डका केही सदस्यले राजीनामा दिएपछि उनले यस्तो प्रतिक्रया दिएका हुन् ।

बोर्डको अध्यक्ष डा देवकोटा निर्वाचित भए लगत्तै असहमति जनाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश पोखरेल, शिक्षाविद् डा. पूर्णचन्द्र अधिकारी, वातावरणविज्ञ डा. सुमित्रा मानन्धर गुरुङ, अनुसन्धानकर्ता डा. प्रतिभा पाण्डे, डा. तीर्थ थापा, ऊर्जा विशेषज्ञ डा. राम मनोहर श्रेष्ठ र डा. जीत जोशीले राजीनामा दिएको भनिएको छ । तर देवकोटाले भने कतिले राजीनामा दिए भन्ने कुरा आफूलाई थाहा नभएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस विषयमा देवकोटाले भने, 'उहाँहरुको केही चित्त दुखाइ छ भने प्रक्रियागत रुपमा सहभागिता भइसकेपछि अब कसरी जाने भन्ने कुरामा फेरि निवास निकाल्न सकिन्छ ।' आफू सबैलाई मिलाएर जाने कुरामा तयार रहेको भन्दै कसैसँग व्यक्तिगत रुपमा आग्रह र पूर्वाग्रह केही पनि नरहेको उनको भनाइ छ ।

उनले भने, 'प्रक्रियागत रुपमा केही गुनासा छन् भने त्यो सल्ट्याउने ठाउँ छ । सस्थालाई राम्रो बनाउने गरी जाने हो । राजीनामाको विषयलाई मिडियामा ल्याउनुभन्दा छलफलबाट समाधानमा पुग्न सकिन्छ । यसका लागि कुलपति पनि तयार हुनुहुन्छ ।' समस्या समाधान गर्न आफू तयार रहेको भन्दै अध्यक्ष देवकोटाले राजीनामा दिएकाहरुलाई एउटै टिममा बसेर काम गर्नका लागि आग्रह पनि गरे ।