यस वर्षको छठ पर्व शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्य दिइएसँगै सम्पन्न भएको छ । तर यहाँका व्रतालुहरुले यसपटक उदाउँदो सूर्यको दर्शन भने गर्न पाएनन् ।

तराई मधेशमा बिहानैदेखि हुस्सु लागेको कारण उदाउँदो सूर्यको दर्शन गर्न नपाउँदा मन खिन्न भएको बताउँछन्, व्रतालुहरु । ६ः२९ बजे सूर्य उदाउने आधारमा हुस्सुकै बीच अघ्य दिएर छठ सम्पन्न भएको हो । उसो त चार दिनसम्म मनाइने छठ पर्व यसपटक कोरोनाको कहरको बीचमा सम्पन्न भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शहर बजारमा अधिकाँशले आफ्नै घरभित्र छठ पर्व मनाएका छन् भने कतिपय जलाशयमा गएर पर्व मनाएका छन् ।

ग्रामिण क्षेत्रमा भने पोखरी, नदी, विभिन्न तलाउका जलाशयमा गएर व्रतालुले छठ पर्व मनाएका छन् । पर्वमा कोरोनाको कुनै भय देखिएको थिएन । न समाजिक दुरी, न मुखमा मास्क । कोरोना महामारीका पनि ग्रामिण क्षेत्रमा खासै भय देखिँदैनथ्यो ।

चतुर्थीदेखि शुरू भएको पर्वमा षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यको पूजा गरिएको थियो भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

अर्धमा ठकुवा, भुसुवा, केसार, अदुवा, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी, विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने परम्परा रहेको छ । छठमा ६० प्रकारको सामाग्रीहरु चढाउने चलन रहेको छ ।

६० वटा सामग्री पुगेन भने गमहरी धानको चामल चढाउने चलन छ । त्यही चामलले अभाव पूरा गर्ने प्रचलन रहेको छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति आस्थाको रुपमा लिने गरिएको छ।