पोखरा । लामो समयको लकडाउनपछि पोखरामा सम्भवतः सबैभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गर्न ओइरिएका छन् । पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडेका छन् । अधिकांश काठमाडौं, बुटवल, चितवन लगायत पूर्वी नेपाल र पश्चिम नेपालका पनि विभिन्न जिल्लाबाट प्याराग्लाइडिङ उडान भर्न आएका छन् । विशेषगरी युवा जमातको प्याराग्लाइडिङमा आकर्षण छ । व्यवसाय छोडेर अन्यत्रै पलायन भइसकेका प्याराग्लाइडिङ पुनः यही व्यवसायमा फर्किएका छन् । दशैं यता प्याराग्लाइडिङमा विशेष छुट अफर ल्याएपछि प्याराग्लाइडिङ गर्नेहरुको दर ह्वात्तै बढेको छ ।

अफिस बन्द गरेर पलायन हुने अवस्थामा पुगेका व्यवसायी पुनः व्यवसायमा कसरी फर्किए ? यस विषयमा नेपाल हवाई खेलकुल संस्था(ना)ले प्याराग्लाइडिङ यति छिट्टै ब्युँतिने आँकलन व्यवसायीले नगरेको बताएको छ । संस्थाका महासचिव बलराम आचार्यले लामो समय सञ्चालनमा आउन्न होला भनेरै व्यवसायी अफिस थन्क्याएर पलायन हुने अवस्थामा पुगेको बताए । ‘यसबाट तत्काल घाटा पूर्ति गर्न सकिन्न कि भन्ने अवस्था थियो । हामीले यो मूल्यांकन गर्न सकेका थिएनौं । आन्तरिक पर्यटकबाट यति धेरै युवायुवती स्वदेशी पर्यटक आकर्षित भएर आउनुहुन्छ र यति चाँडै सञ्चालनमा आएर सहज होला भनेर मूल्यांकन गर्न सकिएन’, उनले भने, ‘कतिपय कम्पनी ब्याक भए पनि अहिले फेरि पुनः सुचारु भएका छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्याराग्लाइडिङ उडान भर्नेहरुको चाप बढेपछि (ना)ले उडान तालिका नै निकालेको छ । नयाँ समयतालिका अनुसार बिहान साढे ९, १० र ११ गरी तीन राउन्ड एउटा कम्पनीले २ पटक उडान भर्न पाउने छ । प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको फ्लो बढेसँगै उडान तालिका मिलाउनै हम्मेहम्मे परेको उनले बताए । बिदाको दिनमा अझ बढी पर्यटकहरु आउने महासचिव आचार्यले सुनाए । अन्य दिनमा पनि पर्यटकहरुको चाप पर्याप्त आउने गरेको उनले बताए । ‘हामी अत्यन्तै खुसी छौं । हामीलाई चाहिने जति पर्यटक आई रहनु भएको छ,’ उनले भने ।

लकडाउन अघि प्याराग्लाइडिङमा पर्यटकहरुले त्यति रुचि नदेखाए पनि लकडाउनपछि प्याराग्लाइडिङमा पर्यटकहरुको रुचि बढेको छ । प्याराग्लाइडिङ उडान मूल्य कम गरेसँगै पर्यटकहरुको फ्लो बढेको उनले सुनाए । प्रचार, प्रसारले पनि प्याराग्लाइडिङप्रति आकर्षण बढेको उनको जिकिर छ ।

यसअघि नेपालीको लागि ७ हजार र विदेशी पर्यटकका लागि ८ हजार भाडादार कायम गरिएकोमा अहिले ३ हजारमा उडान भइरहेको छ । जबकी व्यवसायीहरुले ३ हजार रुपैयाँमा पनि उडान गराउन सक्छन् । ३ हजार रुपैयाँमा पनि तपाईंहरुले उडान त भर्न सक्नु हुने रहेछ, मूल्यमा किन यति धेरै भिन्नता ? हामीले सोध्यौं, जवाफमा उनले भने, ‘हामीले नाफा कमाउनकै लागि व्यवसाय गरेका हौं । अहिले यत्तिकै अफिस खर्च बढाएर राख्नु भन्दा पनि नाफै नभए पनि कमसेकम अपरेशन कष्ट मात्रै उठाएर पनि सञ्चालन गरौं । पर्यटनलाई रिभाइभ गरौं भनेर मूल्यमा कमी गरेका हौं ।’ उनका अनुसार प्याराग्लाइडिङ उडान मुल्य पुनः बढाइने छ । पर्यटकीय गतिविधि छ है भन्ने सन्देश दिनकै लागि नाफा नराखि उडान भरेको उनले जिकिर गरे ।

पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिरहेका छन् । पछिल्लो एक महिना यता पोखरामा कोरोना संक्रमितको दर पनि ह्वात्तै बढेको छ । जसले संक्रमणको दर थप फैलिने जोखिम पनि बढाएको छ । तर, प्याराग्लाइडिङ व्यवसायीको संस्था (ना) ले सुरक्षा सतर्कतामा पूर्ण कन्सस रहेको जिकिर गरेको छ ।