रौतहट । मदिरा सेवन गरी कुटपिट गरेर रौतहटमा ५० वर्षीय पुरुषको हत्या गरिएको छ । घटनाको केही घण्टा नबित्दै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गर्न सफल भएको छ ।
जिल्लाको पुर्वीभेग वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा बस्ने १९ वर्षीय विकास पासवानलगायत केही मानिसले सोमवार साँझ सोहीठाँउका अमिरी पासवानलाई कुटपिट गरेका थिए ।
अत्याधिक मदिरा सेवनगरी विकास पासवानलगायतका समूहले घरतर्फ जाँदै गरेका सोही ठाँउका अमिरी पासवानलाई गालीगलौज तथा कुटपीटसँगै धकेल्दा ५० वर्षीय पासवानको टाउकोमा चोट लागेको थियो ।
घाइते पासवानलाई तत्कालै एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारको लागि लगिएको थियो । टाउकोमा गम्भीर चोट लागेका पासवानको उपचारको क्रममा गएराती ८ बजेर १५ मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रबी रावलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केहीबेरपछि आरोपी विकास पासवानको घर घेरा हाली पक्राउ गरेको थियो ।
उनकै बयानको आधारमा अर्का आरोपी ५५ वर्षीय बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उसको घरैबाट बिशेष सूचनाको आधारमा पक्राउ गरीएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले जानकारी दिए ।
अभियुक्त दवै जनामाथि ज्यान सम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको एसपी शाहले बताएका छन् ।
तत्कालै इलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मृतकको शव पोष्टमार्टमका लागि गौरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



