काठमाडौं । खरिदमूल्य भन्दा मर्मत खर्च बढी १ सुन्दा पनि अच्चम लाग्ने घटना कर्णाली प्रदेशमा देखिएको छ । कर्णाली प्रदेशसभाका सांसद यमलाल कँडेलले यसलाई सम्भव बनाएका हुन् । प्रदेशसभाले उपलब्ध गराएको गाडी मर्मतका लागि खरिद मूल्यभन्दा बढी लाग्ने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कँडेलले प्रयोग गर्दै आएको बा २ झ ३९७० नम्बरको स्कोरपियो ६ जेठमा चितवन, दासढुंगा नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि मर्मतका लागि भैरहवास्थित समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो ।
गाडी मर्मतका लागि ५८ लाख रुपैयाँ भन्दा बढी अनुमानित खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश गरिएपछि सबै हैरान भएका छन् । गाडी मर्मतका लागि समृद्धि इन्टरप्राइजेजले अनुमानित ५८ लाख ६९ हजारको खर्च विवरण पेश गरेको छ ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङका अनुसार यो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । गुरुङले सचिवालयले यान्त्रिक कार्यालयमार्फत यसको प्राविधिक जाँच गर्ने बताउनु भएको छ ।
अनुमानित खर्च निकै धेरै पेश भएकाले गाडी मर्मत प्रक्रिया अगाडि नबढाएको संसद सचिवालयले जानकारी दिएको छ । उहाँका अनुसार यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिन्छ ।
अर्कोतिर बिमा कम्पनीले भने गाडी मर्मत गर्न इन्जिनयर पठाएको जानकारी दिएको छ । यस विषयमा सांसद कँडेलले पनि प्रतिकृया दिनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुलाई बद्नाम गर्न खोजेको आरोप लगाउनु भएको छ । तर जसले गरेपनि यो कार्य भने निन्दनीय छ । उहाँले लेख्नु भएको स्टाटस यस्तो रहेको छः
प्रदेश सभाले उपलब्ध गराएको बा २ झ ३९७० नम्बरको गाडी जेष्ठ ६ गते काठमाडौं आउने क्रममा चितवनमा दुर्घटना भएको थियो । गाडी मर्मत गर्ने तथा बिमाको प्रक्रिया अगाडी बढाउने काम प्रदेश सभा सचिवालयको हो भन्ने कुरा थाहा हुँदाहुदै पनि ‘खरिद मुल्यभन्दा मर्मत खर्च बढी’ भन्ने शीर्षकमा अनलाइन खबरमा मेरो तस्विर राखि व्यक्तिगत लान्छना लगाउने गरि समाचार सम्प्रेषित भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले नै मर्मत सम्भार गरी बिल पेश गरेको जस्तो गरि समाचार सम्प्रेशित गरिएको छ जुन तथ्यमा आधारित छैन । सत्य तथ्यमा आधारित समचार सम्प्रेषण गर्न सबैमा अनुरोध गर्दछु ।’










