सामन्ती राज्य सत्ताको अन्त्य गरी आमूल परिवर्तन गर्ने भन्दै २०५२ सालबाट शुरुभएको माओवादी युद्ध हुँदै २०६२।६३ को जनआन्दोलन मार्फत गणतन्त्र स्थापना भएको १४ बर्ष पुग्दा नपुग्दै देशका विभिन्न शहरहरुमा राजावादीहरुले गणतन्त्र मुर्दावादको नारा लगाउन थालेका छन् ।
केहिदिन अघिबाट विभिन्न नामबाट राजसंस्था पुर्नस्थापना गर्ने भन्दै शुरु भएको अभियान अहिले पनि चलिरहेको छ । आज पनि देशका विभिन्न शहरहरुमा विभिन्न राष्ट्रवादी समाजको नामबाट र्याली निकालिएको छ । अहिले देशको राजधानी काठमाण्डौंमा समेत र्याली निकालिएको छ ।
सो र्याली रत्नपार्कमा पुगेर कोण सभामा परिणत हुने शाहि युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले बताउनु भएको छ । र्यालीमा सहभागीहरुले गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।










