विराटनगर : पूर्व -पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा आइतबार बिहान यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।पूर्वतर्फ जाँदै गरेको को २१ प ५९९१ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले सलकपुर चोकमा बिहान ८ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा-७ का ४० वर्षीय विजेस लिम्बूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याए पछि बिहान ९ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।
प्रनि ढकालले ठक्कर दिने बस र चालक झापाको कनकाई–१ का बाबुलाल मुर्मुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।



