दमक । झापाको दमक– ३ गोलाटारमा निर्माण गरिने आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य चौकी भवनको आज यहाँ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्तरुपमा शिलान्यास गरे। स्वास्थ्य चौकी भवन निर्माणका लागि दमक– ३ निवासी तुलसी धिमालले तीन कट्ठा जग्गा निःशुल्क प्रदान गरेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख ओलीले संविधानमा नै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको भएका कारण पनि दमकमा धमाधम स्वास्थ्य चौकी भवन निर्माणका क्रममा रहेको बताए । नगरवासीको आधारभूत स्वास्थ्य सेवा आफ्नै ठाउँमा नै उपलब्ध गराउन स्थानीय सरकारले जोड दिँदै आएको उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्षेत्रमा स्वास्थ्य चौकीको सेवा सञ्चालन गर्नसके त्यस क्षेत्रका बासिन्दाले दिनभर समय खर्चिएर उर्लाबारी वा दमक चोकसम्म धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका स्थानीय खड्गबहादुर धिमालले बताए ।

उपप्रमुख गीता अधिकारीका अनुसार नगरका अन्य वडामा समेत कूल छ वटा आधारभुत स्वास्थ्य चौकी निर्माणको प्रक्रियामा रहेको र यसअघि दमक ५ र ७ वडामा त्यस्तै प्रकृतिका स्वास्थ्य चौकी भवन निर्माण शुरु गरिएको छ । वडासहित नगरका विभिन्न छ स्थानमा निर्माण शुरु गरिएको भवनको कूल लागत चार करोड ७५ लाख आठ हजार १२७ रहेको छ । भवन निर्माणको लागि स्थानीय माङसुवा प्रवीन जेभीले गत जेठमा नै सम्झौता गरेको नगरपालिकाले जनाएको छ । सम्झौताअनुसार नगरका छ स्थानमा चार कोठाको एकतले भवन २०७८ कात्तिक ५ गतेभित्र सम्पन्न हुने जनाइएको छ । रासस