काठमाडौं, २० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित भएका छन् । बैठक शुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच ‘एक्ला एक्लै’ भेटवार्ता भएको थियो ।

यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि १० दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् ।

https://www.facebook.com/surya.thapa.754918/posts/3570254333067045