नेकपाको स्थायी समिति बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।

ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।

मन्त्रिपरिषद‍्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद रहँदै आएकोमा प्रचण्ड र ओलीले छुट्टाछुट्टै प्रस्ताव ल्याएपछि विवाद थप उत्कर्षमा पुगेको हो ।

नेकपाकै नेताहरुले विवाद फुटउन्मुख भएको बताउन थालेका छन् ।