काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक मोटरसाइकल चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई चाहविल बस्ने ३५ वर्षीय उज्जवल आचार्य पक्राउ परेका हुन् ।

गएराती १०ः४० बजेको समयमा बा ३३ प ६५ नम्बरको मोटरसाइकल अनाधिकृत रुपमा पार्किङ गरेर राखिएको फेला परेको थियो । मोटरसाइकल पार्किङ गरिराखेको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न खोज्दा आचार्यले १६० रुपैयाँ घुस दिन खोजेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खटिएका ट्राफिक प्रहरी जवान समर्पण केसीले चालकमाथि कारवाही गर्न खोज्दा मोटरसाइकल चालक आचार्यले १६० रुपैयाँ घुस दिने प्रस्ताव राखेका थिए ।

त्यसलगत्तै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आचार्यलाई पक्राउ गरी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा बुझाइएको एसएसपी भट्टराईले बताए ।