काठमाडौं, ४ पुस । पार्टीभित्रको विवादका कारण संकटमा रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

प्रधानमन्त्री ओलीले पुल्चोकस्थित मन्त्रीहरूको सरकारी निवासमा पाँच जना मन्त्रीहरूसँग भेटघाट गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निपास खुमलटार पुगेका ओली त्यहाँबाट सिंधै पुल्चोकस्थित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को सरकारी निवासमा पुगेका थिए ।

गृहमन्त्रीसँगको छलफलमै क्रममा त्यहाँ पाँच जना मन्त्रीहरू जम्मा भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसलाई आकस्मिक भेट भनेका छन् । उनले मन्त्रीहरूसँग प्रधानमन्त्रीले छलफल गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘मन्त्री निवास, पुल्चोकमा आकस्मिक भेट !’ भनेका छन् । पाँच मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको के के कुरा भयो भन्नेबारेमा भने सल्लाहकार थापाले खुलाएका छैनन् ।

छलफलमा गृहमन्त्री थापासहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कानुनमन्त्री शिवामाया तुम्बाहाङ्फे र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्याल सहभागी भएका छन् ।

पार्टीमा विवाद बढिरहेका बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । नया पेज बाट साभार