काठमाडौं, ४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टीभित्रको विवाद अन्त्यका लागि सहमति हुन नसके विधिबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र बामदेव गौतमबीच भएको भेटवार्तापछि ट्वीटरमार्फत नेता रावलले नेताहरुबीच कुराकानी हुनु सकारात्मक भएको बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफूहरुले अध्यक्ष प्रचण्डलाई खुमलटार गएर भेट्दा ‘पुच्छर भए’ भनेर आलोचना गर्नेहरुलाई समेत जवाफ दिएका छन् । ‘बिहान प्रधानमन्त्री ओलीजी, दाहालसँग कुरा गर्न खुमलटार जानु भएछ । नेता गौतमजीको उपस्थितिमा मिलौं भन्नु भएछ । हामीले खुमलटारमा दाहालजीसँग भेट्दा बुल्र्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ?’

पछिल्लो समय प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्रको विवादका कारण संकटमा पुगेका प्रधानमन्त्री ओलीले पछिल्लो समय भेटघाटलाई तीब्र बनाएका छन् । आज (शनिबार) ओलीले अर्का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अन्य मन्त्रीहरुलाई समेत भेटेका छन् ।