काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले महिलाहरुमा क्षमता नै हुँदैन भन्नेहरुलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउनुपर्ने बताउनुभएको छ ।

काठमाण्डाैमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा ललितपुरमा आयोजना गरिएको एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सकारात्मक आलोचनाका लागि सधैं तयार हुनुपर्ने भन्दै मन्त्री अर्यालले सकारात्मक आलोचनाले मान्छेलाई सच्याउन मद्दत गर्ने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘महिलाहरुमा क्षमता नै छैन भन्नेहरुलाई जिम्मेवारीमा रहेका महिलाहरुले व्यवहारबाट कार्यान्वयन गरेर देखानुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘सकारात्मक आलोचनाबाट डराउनु पर्दैन । सकारात्मक आलोचनाले आफूलाई सच्याउन मद्दत गर्दछ ।’

आफू मन्त्रीको जिम्मेवारीमा आइसकेपछि राज्यबाट दिने सुविधा श्रीमान् र श्रीमती दुवैको नामबाट दिनुपर्छ भन्नेगरी भूमि नीतिमा व्यवस्था गरिएको भन्दै मन्त्री अर्यालले श्रीमान् श्रीमती दुवैको नाममा जग्गा हुने व्यवस्था गर्न संयुक्त लालपुर्जाको व्यवस्था गरिएको बताउनुभयो । अहिलेको जग्गा प्रशासन पारदर्शी र सुशासन भन्ने नाराका साथ आफू अगाडि बढेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको नेपालको जमिन समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु समेत झेल्नुपरेको बताउनुभयो ।

यस्तै सगरमाथाको उचाई नाप्ने कुरा पनि महत्वपूर्ण कार्य रहेको भन्दै उहाँले यसले राष्ट्रियस्तरमा त्यति चर्चा पाउन नसके पनि विश्वमा नेपालको सगरमाथाको उचाई बढ्यो भन्ने कुरालाई निकै महत्वका साथ हेरिएको बताउनुभयो । आफ्नो कार्यकालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ भनेर लागेको भन्दै उहाँले वैज्ञानिक भूमी व्यवस्थापनका निम्ती अव्यवस्थित बसोबासको पनि व्यवस्थापन पहिलो शर्त हो भन्ने मान्यताका साथ भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनमा सरकार लागेको बताउनुभयो ।

हालसम्म एक हजार बढी सरकारी तथा सार्वजनिक जग्गाको दर्ता बदर गरेर सरकारको नाममा ल्याउन सफल भएको भन्दै मन्त्री अर्यालले पहुँचमा बसेका ठूला मान्छेहरुकै संरक्षणमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण कार्य भएको पनि बताउनुभयो ।