बिराटनगर, पौष ०७ गते ।
उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ गरेको थियो । निजलाई पक्राउ गरेसंगै सोधपुछ गर्ने क्रममा त्रियुगा नगरपालिका-१४ साउने घर भई त्रियुगा नगरपालिका-१२ बस्ने २५ बर्षीया पार्वती मगरको समेत संग्लग्नता रहेको खुल्न आएसंगै तत्काल मगरको कोठामा पुगेको प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको थियो । मगर पक्राउ परेसंगै निजको कोठा खानतलासी गर्दा २०.३४ ग्राम ब्राउनसुगर, नगद ५७,८००, ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चुरोट र केही सिक्का पैसा समेत बरामद भएको थियो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१३ बरुवा खोला किनाराबाट त्रियुगा-११ का ३२ बर्षीय नसिव राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा सोमवार राती साँढे ९ बजे खटिएको प्रहरी टोलीले राईलाई १६.३७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद ११,२०० सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर र नगद सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट सोमवार राती पौने ७ बजे लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् । उक्त स्थानमा लागुऔषध ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ४० ग्राम ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका-५ का १९ बर्षीय मुस्कान धिमाल, १९ बर्षीय बिक्रम मगर, २२ बर्षीय पंचन साह, कानेपोखरी-२ का २४ बर्षीय राजेश धिमाल र लेटाङ-३ का २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।










