८ पुस, काठमाडौं । १९ साउनमा राति खाना खाँदा डा. ध्रुव गैरेले स्वाद पाएनन् । भोलिपल्ट बिहानैदेखि पखाला लाग्यो । बान्ता पनि हुन थाल्यो । ज्वरो र खोकीले पनि आक्रान्त पार्यो । पूरा शरीर कट्कटी खान थाल्यो । रगतमा अक्सिजनको मात्रा पनि घट्न थाल्यो । ज्वरो बढिरहेको थियो । उनी केही सोच्न, सम्झिन नसक्ने अवस्थामा पुगे ।
कोरोना महामारीबीच बिरामीको सेवामा निरन्तर खटिरहेका वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन उनलाई नाकबाट लिएको अक्सिजन अपुग भएर मास्कबाट १४–१५ लिटर अक्सिजन दिँदा पनि अपर्याप्त भएपछि हाइ–फ्लो नोजल क्यानुलाबाट पम्प गरियो ।
आठ दिनसम्म आईसीयूमा बसेपछि क्रमशः सुधार आयो । अक्सिजन, रक्तचाप र पिसाबको मात्रा बढ्दै गयो । बोल्न र खान थाले । नवौं दिनमा स्वाबको रिपोर्ट नेगेटिभ आयो र उनलाई पोस्ट अपरेटिभ वार्डमा सारियो ।
‘एकाएक गाह्रो भएपछि मनमा एकदमै डर पैदा हुँदो रहेछ’, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसिएट प्रोफेसरसमेत रहेका डा. गैरे भन्छन्, ‘निको भएर आइसकेपछि पनि तीन हप्ता खान मन र निद्रा नलागेर औषधी नै खानुपर्यो, केही दिन निद्रा लागेन, ‘डिप्रेस्ड’ जस्तो भएर बसेँ ।’
अन्ततः आफैं सम्हालिएपनि ‘नर्मल’ अवस्थामा आउन डेढ महिना लागेको उनले सुनाए ।
हास्य कलाकार मनोज गजुरेललाई पनि कोरोनामुक्त हुन ठुलो शारीरिक–मानसिक पिडाबाट गुज्रनुपर्यो । निमानिया भएर फोक्सो र छातीको बीचमा हावा भरिएपछि तुरुन्दै आईसीयूमा जान परेको उनी बताउँछन् । ‘आईसीयूमा पस्नुपर्दा भयंकर डर लागिरहयो’, उनी भन्छन्, ‘निको भएर घर फर्कन १२ दिनसम्म शारीरिक र मानसिक दुवै पीडा बेहोर्नुपर्यो ।’
आईसीयूमा स्वास्थकर्मीको बोली, निरन्तर बजिरहेको मनिटरको आवाज योभन्दा पहिले सपनामा हो कि कुनै युगमा हो कि पूर्वजन्ममा हो आफूले सुनेजस्तो लागिरहेको र त्यो भ्रम अहिले पनि बिर्सन नसकेको गजुरेल बताउँछन् ।
आईसीयूमा निदाउन आँखा चिम्लिएँ भने फेरि कहिल्यै खुल्दैन कि भन्न डर लागेको बताउँदै उनी भन्छन्, ‘कानमा निरन्तर कसैले केही भनेजस्तो लाग्ने, कसैले पैताला छामेजस्तो, शरीर तातो र कम्पन भएजस्तो अनुभूति भइरह्यो ।’
त्यसैबीच छेवैको बेडमा रहेका एक वृद्धाको मृत्यू भएको उनले थाहा पाए । ‘त्यतिबेला आँखा अगाडि दूधका दुईवटा धाराले आकाशतिर सिर्का हानेजस्तो लाग्यो, झस्किएर आँखा खोल्ने प्रयास गर्दा सकिन’, उनी भन्छन्, ‘त्यो भ्रम अझै पनि मेरो मानसपटलमा घुमिरहेका छन् ।’
उनी ३० मंसिरमा कोरोना संक्रमणमुक्त भएर घर फर्केका थिए । ह्याम्स अस्पतालका पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा पाण्डे आईसीयूमा पुगेका बिरामी कुनै न कुनै खालको गहिरो डर र सकसको अवस्थामा हुने बताउँछिन् ।



