काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाकाे अवधिमा चर्को आवाज निकाल्ने तीन सय ४२ वटा मोटरसाइकलहरुलाई कारबाही गरेको छ ।
गएकाे १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाइ धमाधम कारबाही गरेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनी प्रदुषण हुने भएकाले कारबाही गरिएको जानकारी दिनुभयो ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरीत भएकोले कारबाही गरेको महाशाखाले जनाएकाे छ ।
यसरी गलत तरिकाले चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाइकलहरू कतै कुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फाेन गरेर जानकारी गराइदिन पनि महाशाखाले आग्रह गरेकाे छ ।



