काठमाडौं : नेकपा प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्हमा अरु कसैले दाबी गर्न नसक्ने बताएका छन्। शुक्रबार माइतीघरबाट जुलुससहित निर्वाचन आयोगमा पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

नेकपा विभाजित भएपछि आफ्नो समूहको बैठकमा आएका भनिएका २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउने क्रममा बोल्दै नेपालले ठूलो दु:खले सूर्य चिन्ह प्रयोगमा ल्याएको भन्दै अब पनि आफूहरुले नै पाउनुपर्ने जिकिर गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'हामीले बडो मिहिनेत गरेर यो सूर्य चिन्ह पाएका हौँ, यसमा अरु कसैले आँखा लगाउन पाउँदैन', उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेर भने, 'हामीलाई विश्‍वास छ हामीले यो चिन्ह पाउँछौं। निर्वाचन आयोगले संविधान-नियम हेरेर विवेकशील ढंगले निर्णय लिनेछ भन्‍ने विश्‍वास छ।'

सूर्य चिन्ह केपी शर्मा ओली समूहले दाबी गर्ने अवस्थामा नरहेको उनले बताए। 'सूर्य चिन्हका लागि अहिले बराबरीको अवस्था पनि छैन। हामी बहुमतमा छौं, हामीले पाउँछौं', उनले भने, 'हामी आधिकारिक हौँ, यसमा अरु कसैले सन्देह नगरे हुन्छ। निर्वाचन आयोगले पनि विवेक पुर्‍याएर निर्णय लिनुपर्छ।'