उनले भने– ‘यो भष्मासुर हो, यसले हात राखेपछि माहादेव पनि भष्म हुनुपर्छ, ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।’ उनले प्रधानमन्त्री ओलीले २०१७ सालको इतिहास दोहोर्याएको बताए । उनले भने– ‘१५ सालमा बनेको संविधान राजा महेन्द्रले स्वीकार गरे । त्यसमै टेकेर १७ सालमा संसद विघटन गरे । जसका कारण ३० बर्ष लडाई गर्नुपर्यो । ५९ सालमा उनकै छोरा राजा ज्ञानेन्द्रले पनि त्यसै गरे । अहिले ओलीले पनि त्यसै गरेर इतिहास दोहोर्याएका छन् ।’

संसद विघटन कसैको लहडमा नहोस भनेर पूर्ण कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचित सांसद राख्न प्रस्ताव गरेपनि कसैले नमानेको र संसद विघटन नहोस भनेरै धारा ७६ राखिएको उल्लेख गरे ।  बुद्धिजिवी भनिएका र केही पत्रकारहरुले बेलायतको उदाहरण दिँदै प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछन् भनिरहेकोमा बेलायतमा पानी पर्यो भने छाता ओड्ने ? भन्दै प्रश्न गरे । बेलायतमा दुई तीन सय संसदीय अनुभव रहेको र बेलायतको उदाहरण हेरेर नै संसद विघटन गर्न नसक्ने प्रावधान राखेको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने– ‘बहुमत प्राप्त सरकारले संसद विघटन गर्न सक्दैन । पार्टी फुटेर बहुमत नभए ओलीले  काँग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्था थियो । काँग्रेससँग मिलेर पनि बहुमत सरकार बनाउन नसकिने अवस्थामा मात्र संसद विघटन गर्न सकिन्थ्यो तर यहाँ त त्यस्तो अवस्था नै रहेन ।’

संघीयता विरोधी, गणतन्त्र विरोधीको हातमा सत्ता पुगेका कारण इतिहास दोहोरिएको उनको भनाई छ ।  चुनाव घोषणा गर्ने अनि मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ? भन्दै  आफू प्रधानमन्त्री भएका बखत संविधानसभा भंग भएका बेला ८ मन्त्रालय खाली राखेर काम चलाउन सरकार चलाएको स्मरण गरे ।

चुनाव घोषणा गर्ने अनि मैले जे गरेपनि हुन्छ भनेर सडकबाट मान्छे टिपेर मन्त्री बनाउँदै संविधानमा नभएको अभ्यास गरेको उनले बताए । उनले प्रश्न गरे– ‘कोरोनाको यस्तो  महामारीमा चुनाव गर्ने बेला हो ? अहिले सरकारले कोरोना परीक्षणदर घटाएको छ, कम भएको देखाइरहेको छ ।

कोरोना अहिले नयाँ रुपमा आइरहेको छ, अहिले कोरोनाभन्दा ५६ प्रतिशत छिटो सर्ने नयाँ भाइरस आइरहेको छ । अरु देशले भ्याक्सिन लगाउन थालिसके । हाम्रोमा फेरि चुनाव गर्ने हो भने ३५ अर्बभन्दा बढी खर्च लाग्छ । बेरोजगारी बढेको छ । त्यता खर्च गर्ने हो कि चुनावमा खर्च गर्ने हो ?’ डा.भट्टराईले संसद जिउँदो रहेकोले सभामुखले संसद बैठक बोलाउन सक्ने उल्लेख गर्दै संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई आग्रह गरे। रातो पाटी बाट