काठमाडौं । झापास्थित ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय कुमार शाहसहित ३ जनालाई प्रहरीले पक्रेको छ ।
गौरिगञ्ज गाउँपालिका–३ घर भएका शाहसहित ३ जनालाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता (डिएसपी) राकेश थापाले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ईप्रका गौरिगञ्जका कार्यालय प्रमुखसहित कार्यालय सहयोगी आसिर आलम र लेखापढी व्यवसायी कृष्ण प्रसाद तिम्सिनालाई पनि पक्राउ गरेको छ ।
उनीहरुले झापाका अमृत राई, दिपिका राई र विशाल राईलाई ईप्रका गौरिगञ्जको नागरिकतासम्बन्धी सफ्टवेयर अनधिकृत रुपमा सम्पादन गरेर नागरिता दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नागरिता नम्बर ४–०६–७७–००५९१ देखी ९३ सम्मका तीनवटा नागरिताको अभिलेख कार्यालयमा राखिएको छैन् ।
नागरिता लिएकाहरुको ठेगाना साविक जुरोनापनी–८ र अहिले गौरादह नगरपालिका–७ उल्लेख गरिएको छ । सो ठेगानामा उनीहरु फेला नपरेको डिएसपी थापाले बताए । प्रहरीले उनिहरुलाई नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।



