काठमाडौं । कुमारीपाटीबाट ठमेलस्थित गल्कोपाखा जानेगरी सरोज कार्कीले टुटल बुक गरे । तिनै टुटल प्रयोगकर्ताबाट राईडर लुटिएका छन् ।
टुटल राईडर पवन कुमार खड्का नजिकै थिए, उनले टुटल एप मार्फत गरिएको आग्रह एक्सेप्ट गरे । दैलेख घर भएका पवन कुपण्डोल बस्थे, दैनिक गुजारा चलाउन टुटल दौडाउँथे ।
पुस ८ मा राति करिब साढे ११ तिर मुगु घर भएका सरोजलाई लिएर पवन गल्कोपाखा तिर लागे । गल्कोपाखामा ड्रप गरेपछि सरोजले अनावश्यक निहुँ खोजे, पैसाको विवाद निकाले । अनि, धम्की दिँदै भने–‘साथमा भएको पैसा र मोवाईल छाडेर जाने, अन्यथा राम्रो हुँदैन ।’
पवनको दाबी अनुसार उनको साथमा रहेको २७ हजार पर्ने मोवाईल र पैसा लुटेर सरोज भागे । नियोजित विवाद निकालेर लुटेको भन्दै पवनले प्रहरी गुहारे । लुटपाटमा संलग्न आरोपी सरोज कार्कीलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेले पक्राउ गरेको छ ।
आरोपीमाथि ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दीपक खड्काले रातोपाटीलाई बताए ।



